काठमाण्डु, २४ जेठ– मन्त्रिपरषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको छ ।
प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जान लागेका हुन् ।
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचन परिणाम सार्वजनिक भएसँगै प्रचण्ड र मोदीबीच बुधबार साँझ टेलिफोन संवाद भएको थियो । त्यसक्रममा मोदीले शपथ ग्रहण समारोहमा उपस्थित हुन प्रधानमन्त्री प्रचण्डलाई निम्ता दिएका थिए ।
प्रचण्डले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका थिए । दुई प्रधानमन्त्रीबीच आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको थियो ।
त्यस क्रममा प्रचण्डले मोदी नेतृत्वमा बन्ने नयाँ सरकारले नेपाल–भारत सम्बन्ध थप प्रगाढ तुल्याउने विश्वास व्यक्त गरे । नयाँ सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको उनको भनाइ थियो ।
ताजा जनादेशपछि प्रधानमन्त्री मोदीले बुधबार पदबाट राजीनामा दिएका थिए ।