मधेसमा ढल्यो जसपाको सरकार, मुख्यमन्त्री यादव पदमुक्त

काठमाण्डु टुडे २०८१ जेठ २३ गते २१:११ मा प्रकाशित

जनकपुर, २३ जेठ- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।

बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले विश्वासको मत मागेका थिए । बहुमतका लागि ५४ मत आवश्यक पर्नेमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको छ । यादवको पक्षमा उनको दल जसपा,  काँग्रेस, लोसपा र राप्रपाका सांसदले मत दिए । विपक्षमा एमाले, माओवादी केन्द्र, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीका ५३ सांसदले मतदान गरेका छन् । मधेश प्रदेशसभामा १ सय ७ सदस्य छन् ।  १/१ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी भने मतदानमा सहभागी भएन । यादव २०७९ पुस २३ मा एमाले, माओवादी, जनमत, लोसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारबाट बाहिरिंदै समर्थन फिर्ता लिएपछि यादव अल्पमतमा परेका थिए । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरेका छन् ।    

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us