काठमाण्डु, २३ जेठ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिन तयार भएका छन् ।
अपराह्न तीन बजे बोलाइएको प्रदेशसभा बैठकमा यादवले विश्वासको मत लिने कार्यसूची थियो । तर, अस्वस्थताको कारण देखाउँदै यादवले २८ जेठमा मात्र विश्वासको मत लिने दिन तोकिदिन सभामुखलाई पत्राचार गरेका थिए । सभामुख रामचन्द्र रामचन्द्र मण्डलले यादवको आग्रह अस्वीकार गरेपछि अन्ततः यादव आजै विश्वासको मत लिन तयार भएका हुन् ।
यसअघि बसेको प्रदेशसभा बैठक मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित नभएपछि स्थगन भएको थियो । यादवलाई कांग्रेस, लोकतान्त्रिक समाजवादी र राप्रपाले समर्थन गर्दैछन् । विश्वासको मतका लागि ५४ सांसदको समर्थन चाहिन्छ । यादवका पक्षमा ५० सांसदको मात्र समर्थन रहेकाले विश्वासको मत पाउने सम्भावना छैन ।
विश्वासको मत नपाएसँगै मुख्यमन्त्री यादव पदमुक्त हुने भएपछि एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेका छन् ।