सुमना श्रेष्ठले केपी ओलीलाई जवाफ फर्काइन्

काठमाण्डु टुडे २०८१ जेठ २३ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, २३ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीलाई जवाफ फर्काएकी छन् ।

श्रेष्ठले आफ्नो सचिवालयको फेसबुक पेजमार्फत ओलीलाई जवाफ फर्काएकी हुन् । उनले समाजमा महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी छन् । ओलीले उनलाई लक्षित गरी केही दिनअघि एक सार्वजनिक कार्यक्रममा विदेशबाट नेपाल घुम्न आएका बेला मन्त्री बनेको टिप्पणी गरेका थिए । राजनीतिक अगुवा भनिएकाहरूमा विदेशबाट फर्किएकाले नेपालम राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र वर्षौंदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाऊन्, उनीहरूको होमा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्ने गरेको उनको टिप्पणी छ ।

कर्मचारीतन्त्र र पेशाकर्मीहरूले पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्ने गरेको अनुभव श्रेष्ठको छ । ‘अहिले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरूको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन्,’ उनले भनेकी छन्, ‘महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । समाजको नियम भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ । यही भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन् ।’

मन्त्री श्रेष्ठले बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन भनेर प्रश्न पनि गरेकी छन् । त्यस्तै श्रीमानको पहिचान बाहिर नारीको आफ्नो स्वतन्त्र पहिचान हुँदैन भन्दै ओलीलाई प्रतिप्रश्नसमेत गरेकी छन् ।
‘के विदेशीसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ? अहिलेसम्म पुस्तौंदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो । यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन्,’ उनले लेखेकी छन् ।

ओलीको टिप्पणी केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिए पनि त्यसले आफूजस्तै सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन र कमाउन बाहिरिएकाहरुप्रति लक्षित रहेको उनले बताइन् । सुमनाले त्यस्तो सोच जोसुकैबाट आए पनि त्यसको विरूद्धमा रहन आवश्यक रहेको र यो नागरिकको सम्मानको समय भएको उल्लेख गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us