भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन भए गोदावरीका मेयर महर्जन

काठमाण्डु टुडे २०८१ जेठ २१ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ ।

आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरूद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् ।

‘कुनै राष्ट्रसेवक दफा २८ को उपदफा १ को खण्ड ग दफा ३० को उपदफा ३ तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने छ’ ऐनको दफा ३३ मा भनिएको छ ।

अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा पेश गरेको हो । मेयर महर्जन गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट मेयर पदमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us