कोशी प्रदेशसभा बैठकमा सहभागी हुने कांग्रेस दलको निर्णय

काठमाण्डु टुडे २०८१ जेठ २१ गते १४:११ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । आज सोमबार कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता उद्धव थापाले पत्रकार सम्मेलन गरी यस्तो निर्णय भएको जानकारी दिएका हुन ।

थापाले जारी गरेको विज्ञप्तिमा सरकार गठन प्रक्रिया अवैधानिक भएको भन्ने नेपाली कांगेस कोशी प्रदेश संसदीय प्रस्तुत गर्दै आएको धारणा यथावत् रहेको पनि बताइएको छ ।

यद्यपि अदालती प्रक्रियाबाट उक्त मुद्दा टुङ्ग्याउन अनिश्चित समय लाग्ने देखिएको तर यस प्रदेशमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम एवम् बजेट पनि प्रस्तुत गर्ने समय सीमालाई मध्यनजर गरी दलले बैठकमा सहभागी हुने निर्णय गरेको थापाले जानकारी दिएका छन ।

‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा जनताको जनजीविकाको सवालहरू प्रदेश सभा मार्फत सम्बोधन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै प्रदेशको विकास निर्माण र सम्वृद्धिका लागि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट जनहितमा छ, छैन भनी खबरदारी गर्नुपर्ने महत्त्वपूर्ण सवाल र समयलाई समेत आत्मासाथ गर्दै दल प्रस्तुत हुनुपर्ने ठहर गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अदालतमा विचाराधीन मुद्दामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कानुनी आधारमा पुष्टि गर्ने दृढ सङ्कल्पका साथ संसदीय पद्धति र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरू मुखरित गर्ने निष्कर्ष निकाल्दै प्रदेशसभा बैठकमा सहभागी हुने निर्णय गर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us