गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई जोड्दै मेयर बालेनले लेखे: पीडितको बैना फिर्ता गर्नुस

काठमाण्डु टुडे २०८१ जेठ २१ गते ११:२९ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन् ।

उनले गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै पीडितको बैना फिर्ता गर्न भनेका छन् । बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भन्दै बालेनले फेसबुकमा लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला ।

नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’ गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता नहोला भन्न नसकिने बालेनको आशय छ ।

‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ बालेनले लेखेका छन्, ‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us