
काठमाण्डु, २० जेठ– पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रभक्ता डा. प्रकाशशरण महतले अर्थमन्त्री वर्षमान पुनले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न स्याउ, प्याज र आलुमा लगाएको भ्याट हटाएको दाबी गरेका छन । उनले यसले गर्दा भारतबाट सस्तो तरकारी नेपाल आउने र नेपाली कृषक मारमा पर्ने बताएका छन ।
आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद महतले यस्तो बताएका हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएको आन्तरिक उत्पादन बढाउनका लागि भन्नुभयो, मत छक्क परेँ । यस्तो झुट सत्य हुन सक्दैन ।
हामीले भन्सारबाट नेपाल ल्याउन भ्याट लगाएका थियौँ, आन्तरिक उत्पादनमा लगाएकै थिएनौँ । विदेशको सस्तो यहाँ नआओस् र यही आलु उत्पादन होस, स्याउ यही उत्पादन होस, प्याज उत्पादन होस भनेर कृषकहरू खुसी थिए । तर जो व्यापारमा संलग्नहरूको प्रभावले उहाँले त्यसलाई हटाइदिनुभयो र प्रोत्साहन गर्नका लागि हटायौँ भन्नुहुन्छ ।
जबकि हामीले भन्सारमा मात्र लगाएका थियौँ सबैलाई थाहा छ, सबैलाई थाहा छ, यस्तो झुटो कुरा बोल्ने ?’ उनले वैदेशिक ऋण लिनुभन्दापनि आन्तरिक ऋण लिनु जोखिमपूर्ण रहेको पनि बताएका छन ।
अर्थ मन्त्रालयको विविध क्षेत्रमा अहिलेपनि ७६ अर्ब रुपैयाँ रहेको भन्दै उनले अर्थ मन्त्रालयको लागि विगतमा ४७ अर्ब रुपैयाँ हुने गरेपनि यो पटक ९७ अर्ब रुपैयाँ पुर्याइएको पनि बताएका छन ।
आन्तरिक ऋण लिएर सो रकम राखिने बताउँदै उनले के गर्नका लागि ठुलो परिणामको बजेट अर्थ मन्त्रालयका लागि राखिएको भन्दै प्रश्न गरेका छन । उनले भने,‘पहिले अर्थ मन्त्रालयले त्यति धेरै बजेट राखेको थिएन, आवश्यक पनि थिएन ।
त्यसको उत्तर सरकारले दिनुपर्छ । भूकम्प पीडितलाई राखेको भन्नुहोला, त्यसका लागि पनि २०–२२ अर्ब राख्नुभएको छ । मलाई के लागिरहेको छ भने, हामी गठबन्धनमा हुँदा बजेट वितरण गर्न पाइन भन्ने जुन ठुलो सकस थियो, मैले एउटा परिवारमा जस्तै नियमसँगत खर्च हुनुपर्छ, पार्टीमुखी हुनुहुँदैन, स्वार्थ समूहमुखी हुनुहुँदैन यो देश र जनतामुखी हुनुपर्छ ।
प्राथमिकताका आधारमा खर्च हुनुपर्छ भनेर बजेट बनाएका थियौँ । ३ करोडभन्दा मुनीको आयोजना हुनुहुँदैन भनेर बनाएका थियौँ । तर अहिले खुट्टा छोडिसक्नुभयो, कनिका छरेजसरी बजेट जाँदैछ ।’