सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको छ: नेता खनाल

काठमाण्डु टुडे २०८१ जेठ २० गते १४:४४ मा प्रकाशित

काठमाण्डु, २० जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमार्फत सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासमा रहेको बताएका छन ।

आज (आइतबार) पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन । उनले आगामी असारमा हुने महाधिवेशनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप छलफलहरू भइरहेको जानकारी दिएका छन ।

उनले भने, सकेसम्म अन्तिम प्रयास गरेर सहमतिपूर्ण नेतृत्व चयन गर्छौ, ‘त्यसका लागि छलफल भइरहेका छन् । अझै पनि छलफल गर्छौ ।’

नेता खनालले १० महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने दाबी समेत गरेका छन । एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाण्डुमा हुँदैछ ।

महाधिवेशनमा चारवटा दस्ताबेजहरू पेश गरेर पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन हुँदैछ । नेतृत्वका लागि वर्तमान अध्यक्ष नेपाल र सम्मानित नेता खनालबिच प्रतिस्पर्धा हुने नेता कार्यकर्ताको बुझाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us