काठमाण्डु, २० जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरिबन्धु टी इस्टेटलगायत सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएको छ ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता समेत रहेका सांसद मनिष झाले यस्तो बताएका हुन ।
उनले बालमन्दिरको जग्गा दुरुपयोग, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरणलगायतका अनियमितताका फाइल पनि खोल्ने बताएका छन ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं’ उनले भने ।
विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको उनले दाबी गरे । उनले रास्वपा राजनीतिमा आएको २३ महिना र संसदमा प्रवेश गरेको १७ महिना भएको स्मरण गर्दै उनले सरकारमा पनि दुई पटक गरेर १२२ दिन रहेको बताएका छन ।
उनले यो अवधिमा आफूहरु सक्दो राम्रो गर्ने प्रयासमा रहेको पनि बताएका छन । उनले सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग राखेर संघीय संसदमा भएको अवरोधको विषय पनि बताएका छन ।
आफूहरुले व्यक्ति केन्द्रित भएर समिति नबनाऔं भनेको तर, सबै प्रकारको छानबिनका लागि तयार रहेको आफूहरुको धारणा रहेको उनको भनाइ छ । आफूहरु राजनीतिमा केही गर्न आएको दाबी गर्दै उनले रास्वपाले नै सबै बिगारेको रुपमा नलिन आग्रह गरे ।