काठमाण्डु, २० जेठ– इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुन्डिएको फेला परेको इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिएका छन । घरमा आमा छोरा मात्रै बस्ने गर्दथे ।
‘बुबा चाहिँ ज्याला मजदुरी गर्न एक महिना अगाडि नै बाहिर गएका रहेछन् । मादक पदार्थ सेवन गरेर बिहानै आमा छोराको झगडा भएको रहेछ,’ ढकालले भने ।
आमा–छोरा नै मापसे गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको । शनिबार पनि आमा छोराबिच विवाद सामान्य भएको थियो ।
विवाद पछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् । आमा निस्केको मौका पारेर छोरा झुन्डिएका थिए ।
‘आमा आइपुग्दा छोरा झुन्डिएको अवस्थामा रहेछ । छोरा झुन्डिएको देखेपछि आमाले पनि झुन्डिएको पाइयो । पछि गाउँलेहरू आउँदा दुवै जना झुन्डिएको देखियो,’ ढकालले भने ।