काठमाण्डु, १९ जेठ– एमालेका महासचिव शंकर पोखरेलले पार्टीको कार्यक्रमहरूमा युवाहरूको उपस्थिति कम देखिन थालेको दाबी गरेका छन ।
आज (शनिबार) पार्टीको युवा सङ्गठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।
उनले एमालेले आफूलाई बलियो निर्णायक शक्तिको रूपमा स्थापित गर्न युवाको बिचमा त्यस्तै लोकप्रियता स्थापित गर्न चाहेको बताएका पनि बताएका छन ।
०४६ सालपछि तत्कालीन नेकपा मालेका नेताहरूले सार्वजनिक रूपमा भाषण गर्दा दशौँ हजार मानिस भेला हुने गरेको र त्यसमा युवाहरूको सङ्ख्या धेरै रहने गरेको बताउँदै अहिले भने परिस्थिति बदलिएको उनले बताएका छन ।
उनले नेकपा एमालेको कार्यक्रममा अन्य पार्टीहरूको भन्दा धेरै जनताहरू सहभागी भएपनि युवाहरूको उपस्थिति पातलो भएको पनि बताएका छन ।
उनले भने, ‘नेकपा एमालेका कार्यक्रमहरूमा ठूलो सङ्ख्यामा मानिसहरू भेला हुने गर्दछन्, अरू पार्टीसँग नेकपा एमालेको कुनै तुलना हुँदैन ।
तर युवाहरूको सङ्ख्या अत्यन्तै मसिनो छ, कमजोर छ । यो प्रवृत्ति बदल्ने कामको नेतृत्व तपाईँहरूको हो । अब आउने मिसन ८४ को चुनावमा परिणामलाई उल्टो बनाइदिनुपर्दछ ।
सबैभन्दा धेरै युवाको मत एमालेलाई बनाउने कुरामा तपाईँहरू नखटिई सम्भव छैन । त्यसका लागि अहिलेको तरिकाको खटाइले पुग्दैन । तरिका बदल्नुपर्दछ ।’
उनले विदेश गएका युवाहरूलाई पनि युवा सङ्घको आन्दोलन देखेर स्वदेश फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए ।