पुर्व प्रधानमन्त्री डा. भट्टराईको हातबाट २ चलचित्र पत्रकारसंगै दर्जनबढि कलाकर्मी सम्मानित

काठमाण्डु टुडे २०८१ जेठ १९ गते १५:२० मा प्रकाशित

काठमाण्डु, १९ जेठ– नेपाल चलचित्र संघ, पुर्वान्चल शाखाको आयोजनामा लोक गायक तथा संगीतकार फणीन्द्र सुवेदीको स्वर तथा अभिनेता तथा निर्देशक पर्शुराम चौधरीको निर्देशनमा तयार भएको म्युजिक भिडियोको रामधुनी नगरपालिका अवस्थित झुम्काको म्याजिक सिनेमा हलमा एक भब्य कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।

सम्माननिय पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमबाट कलाक्षेत्रका व्यक्ति र चलचित्र पत्रकारहरूलाई सम्मानसंगै कदर तथा प्रोत्साहन पनि गरिएको थियो ।

सार्वजनिक म्युजिक भिडियो तथा कला क्षेत्रमा योगदान पुर्याएको भन्दै गायक तथा संगीतकार फडिन्द्र सुवेदी, लेखक तथा कलाकार रेणु चौधरी, मोडल तथा कलाकार दिनेश कोइराला, कलाकार मेनुका माझी, गायक तथा संगीतकार प्रवलदिप विश्वास, कलाकार जयनारायण चौधरी, छायाकार तथा सम्पादक हेमन तामाङ, निर्देशक कार्तिक राजबंशी, नृत्य निर्देशक तुलशी घिमिरेलाई सम्मान गरिएको थियो ।

यस्तै कोशी प्रदेशमा रहेर चलचित्र पत्रकारितामा योगदान पुर्याएको भन्दै पत्रकार बिकल श्रेष्ठ र मनोज दाहाललाई पनि सम्मान गरिएको थियो । यस्तै गीतकार मिला सुवेदी, कलाकार तथा मेकअप आर्टिस्ट पुनम चौधरी, कलाकार गणेश बहादुर राउत, छायाकार राजाबाबु विश्वास, कलाकार सुस्मिता पाण्डे, कलाकार सन्जु सापकोटा, नृत्य निर्देशक तथा कलाकर उर्मिला लोप्चन तामाङ र कलाकार लक्ष्मी राईलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

यता नवोदित कलाकारहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्य सहित उक्त कार्यक्रमबाट कलाकार मन्जय माझी, कलाकार शिव सापकोटा, छायाकार किशोर दाहाल, कलाकार सम्झना खवास र कलाकार लिशा चौधरीलाई प्रोत्साहन पत्रद्वारा समान गरिएको थियो ।

कार्यक्रममा लोक गायक फणीन्द्र सुवेदीको भिडियोचित्र सहित जिवनी तथा उनले गाएका गीतहरु प्रस्तुत गरिएको थियो । लेखक, निर्देशक तथा निर्माता लाखमान योन्जन तामाङ, निर्माता चिरञ्जीवी बस्नेत, भिम लामा, द्वन्द कलाकार आजे भिलेन, गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल (बोकेदार्ही) लगायत कोशी प्रदेशका थुप्रै चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको विशेष अतिथीको रुपमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मी र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) समेन्द्र ब्रजाचार्यको उपस्थिति रहेको थियो । कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका सचीव सुवास संकल्पले संचालन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us