बजेटमा कमजोरी भेटिए आलोचना गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाण्डु टुडे २०८१ जेठ १९ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्माओलीले सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा पेश गरेको बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न पार्टीका सांसदहरु लाई निर्देशन दिएका छन ।

आज (शनिबार) नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको एमाले संसदीय दलको बैठकमा बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन ।

उनले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सकिने बताएका छन । उनले भने, ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन ।

बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वाभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ ।’

ओलीले अगाडि भने, ‘आफ्नो क्षेत्रमा भइरहेको बजेटमा कटौती भइरहेको छ भने आयोजनामा कटौती भएको छ भने बजेटको सम्पूर्ण आकार नघटेको अवस्थामा आयोजनाका लागि छुट्टाइएको रकम घट्यो भने त्यसको औचित्य के हो त  ?

कुनै आयोजनाका लागि हामी विशेष नै काम गर्दैछौँ कि ? नयाँ आयोजना, ठूलो आयोजना जसले एउटा रूपान्तरकारी काम गर्छ त्यस्तो आयोजना, त्यसमा ठुलो किसिमको बजेट छुट्टाउनुपर्यो भन्ने कुराहरू छन् कि  ? यस्ता कुराहरू पनि हेर्नुपर्छ । यदि त्यस्तो छैन भने एउटालाई अनुकूल र अर्कोलाई प्रतिकूल हुनेगरी भएको छ भने पनि बोल्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us