काठमाण्डु, १८ जेठ– प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक १३ महिना लगाएर पास गरेको छ ।
आज (शुक्रबार) बसेको बैठकले विधेयक सर्वसम्मत रूपमा पास गरेको हो । विधेयक पास भएको घोषणा गर्दै सभापति राजकिशोर यादवले ‘समिति सदस्यहरूलाई बधाई’ समेत दिएका छन । सांसदहरूले टेबुल ठोकेर अनुमोदन गरे । एमालेका सांसद भीमप्रसाद आचार्यले ‘एक वर्षमा भएता पनि एउटा विधेयक त पास गरियो नि‘’ भने ।
सांसदहरू हाँसे । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १० असार २०७७ मा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्ने गरी राष्ट्रिय सभामा यो विधेयक दर्ता गरेका थिए ।
अभिलेखको संरक्षण र व्यवस्थापनमा प्रभावकारिता ल्याउनका लागि भनेर ल्याइएको विधेयक २३ माघ २०७९ मा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आईपुगेको थियो ।
१५ वैशाख २०८० मा प्रतिनिधि सभाले यो विधेयकमाथि दफावार छलफलका लागि विषयगत समिति (अन्तर्राष्ट्रिय सम्बन्ध समिति) मा पठाएको थियो । समितिमा प्राप्त भएको १३ महिनापछि समितिले दफावार छलफलसहित विधेयक पास गरेको हो ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपालमा हाल रहेका अभिलेखको संरक्षणका सम्बन्धमा प्रचलित कानुनमा प्राविधिक विषय सुधार गर्नका लागि संशोधन विधेयक ल्याइएको हो ।
अभिलेख संरक्षणसम्बन्धी पुरानो ऐनलाई समयसापेक्ष बनाएर अभिलेखसम्बन्धी महत्वपूर्ण दस्तावेजलाई तीन तहका सरकारबीच समन्वयका साथ प्रभावकारी अभिलेखीकरण गर्ने विधेयकको उद्देश्य रहेको छ ।