
काठमाण्डु, १३ जेठ– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नामबिनै कामचलाउ प्रकृतिको संसदीय छानबिन समिति बनाउन एमाले अध्यक्ष केपी शर्माले चाहेको दाबी गरेका छन् ।
आज (आइतबार) प्रदर्शनी मार्गमा ‘सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरुद्ध’ कांग्रेसले गरेको खुला सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले भने,‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीजी चाहनुहुन्छ ।’
सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नचाहनुको चार कारण रहेको उनको भनाइ छ । ‘तपाईंकै एमालेका कैयौँ साथीहरू–जो सहकारीमा संलग्न हुनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ ।
ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यो जोगाउन एमाले पार्टीलाई नै बदनाम गराउने कर्म गरिरहनुभएको छ,’ । शर्माले दुई वटा राहदानी हुनेले गृह मन्त्रालय चलाएको र दुई वटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको बताउँदै छानबिनको माग गरे ।
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दा भन्दै कार्यकक्षबाट गिरफ्तार गरियो । दुई वटा पासपोर्ट भएर गृह मन्त्रालय चलाउने, दुई वटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो ?, उनको प्रश्न छ ।