बजेट संसदबाटै आउँछ प्रमुख: सचेतक पाण्डे

काठमाण्डु टुडे २०८१ जेठ ११ गते १७:४४ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले आगामी आर्थिक वर्षको बजेट संसदबाटै आउने बताएका छन । उनले सरकारको ध्यान अध्यादेशमार्फत बजेट ल्याउनेतिर नरहेको पनि बताएका छन ।

आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्य सचेतक पाण्डेले यस्तो बताएका हुन । उनले संसद चलिरहेको र तत्काल अन्त्य नहुने पनि बताएका छन ।

उनले संसद चलिरहेका बेला अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनेतिर सरकारको ध्यान नरहेको बताएका छन । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको र नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याइने उनले बताए ।

शुक्रबार नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची थियो । तर, दलहरुका बीचमा संसदको गतिरोध अन्त्यका लागि सकारात्मक वातावरण बनाउने संसद बैठक सल्लाहमै कार्यसूचीमा प्रवेश नगरेको उनले बताएका छन ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग रहेको छ ।

संसदीय समिति गठनका लागि दलहरु तयार भएका छन् । तर, समितिको कार्यादेश भने टुंगो लागेको छैन । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन यही जेठ ५ गते कार्यदल गठन भएको थियो ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलको बैठक दिनहुँजसो बसिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us