
काठमाण्डु, २ जेठ– सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आयल निगम सञ्चालक समिति बैठकले बिहीबार बिहान एक बजेबाट लागू हुने पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रतिलिटर ७ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रूपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।
स्वचालित मूल्य प्रणालीअनुसार भारतीय आयल कर्पोरेसन (आइओसी) पठाएको नयाँ मूल्य सूचीअनुसार नयाँ दर कायम गरिएको हो । आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको थियो ।
नयाँ मूल्यअनुसार काठमाण्डु र पोखरा आसपास क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७१ रूपैयाँ पर्नेछ । डिजेल र मट्टीतेलको मूल्य १ सय ५४ रूपैयाँ हुनेछ ।