फेरि फुट्यो उपेन्द्र यादवको जसपा

काठमाण्डु टुडे २०८१ वैशाख २७ गते १९:५३ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ ।

महेन्द्र लावती नेतृत्वको समूहले बिहीबार पार्टीबाट बाहिरिएको घोषणा गरेको हो । राजधानीमा पत्रकार सम्मेलन गरी उक्त समूहले ‘पहिचानवादी मोर्चा’ घोषणा गरेको छ । लावती संघीय लिम्बुवान राष्ट्रिय परिषदबाट जसपामा आएका थिए । यसअघि आइतबार अशोक नेतृत्वमा सात सांसदले जसपाबाट विद्रोह गरी जनता समाजवादी पार्टी गठन गरेका थिए ।

सो पार्टीलाई निर्वाचन आयोगले विधिवत दर्ता गरी दलको मान्यता प्रदान गरिसकेको छ । पत्रकार सम्मेलनमा लावतीले सत्ताको खेलका कारण अशोक राई नेतृत्वमा पार्टी विभाजन भएको जनाएको छ । नवगठित मोर्चाले विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण गरी सबै समुदायको पहिचानका लागि वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने लक्ष्य रहेको दाबी गरेको छ ।

पहिचानका मुद्दालाई सशक्त बनाउन विभिन्न समूहमा छरिएर रहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तिलाई एकताबद्ध गर्ने मोर्चाले जनाएको छ ।
मोर्चाका संयोजक लावतीले नेपालमा सदियौंदेखि एकल जातीय राज्य रहँदै आएको जिकर गरे । नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us