
काठमाण्डु, ७ जेठ– प्रहरीले काठमाण्डुको बूढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ गरेको छ । लुटपाटको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले २ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा रौतहटको मौलापुर नगरपालिका–४ घर भएका १९ वर्षीय सरोजकुमार साह र सोही ठाउँका २० वर्षीय राधेश्याम साह रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
बूढानीलकण्ठ नगरपालिका–३ बीएमसी स्कुल नजिक किराना पसल सञ्चालन गरेकी ७५ वर्षीया शारदा थापाको गलाको सिक्री सरोजकुमारले ४ जेठमा लुटेको आरोप लागेको छ ।
पसलमा बसिरहेको अवस्थामा थापाले गलामा लगाएको एक तोला ९२ लालको सुनको सिक्री उनले लुटेका थिए । सिक्रिसहित उनलाई प्रहरीले पक्राउ गरेको छ ।त्यसैगरी बूढानीलकण्ठ–२ माथिल्लो भंगालमा ३ जेठमा ५६ वर्षीया सुमित्रा श्रेष्ठको करिब डेढ तोलाको सिक्री राधेश्यामले लुटेको आरोप लागेको छ ।
राधेश्यामको साथबाट सिक्री भने फेला परेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।