मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च गए निवर्तमान मुख्यमन्त्री कार्की

काठमाण्डु टुडे २०८१ वैशाख २७ गते १६:०७ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस नेता केदार कार्कीले बिहीबार नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ ।

साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् ।

रिटको पेशी शुक्रबारका लागि तोकिएको छ । कोशी प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार मध्यरातमा नेपालको संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

बिहीबार बिहान एमाले संसदीय दलका नेता कार्कीले ५२ सांसदको समर्थसहित दाबी पेस गरे । लगतै समर्थनकर्ता सांसदहरूको सनाखत गरेपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us