नेपाल युएईसँग ६ विकेटले पराजित, एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त

काठमाण्डु टुडे २०८१ वैशाख ७ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको आज भएको नेपाल सेमिफाइनल खेलमामै पराजित भएको छ । शुक्रबार ओमानको अलअमेरतमा भएको पहिलो सेमिफाइनलमा नेपालमाथि युएईले ६ विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको छ । पराजित भएको नेपाल सन् २०२५ मा हुने एसिया कपमा छनोट हुन असफल भएको छ ।

नेपालले दिएको १२० रनको सामान्य लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाएआर पुरा गर्न सफल भएको थियो । युएईका लागि ओपनिङ ब्याटर अलिशान शराफूले नटआउट ५५ रन बनाए । उनले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । त्यसअघि ओपनर तथा कप्तान मोहमद वासीम ११ रन बनाएर खेलिरहदा सोमपाल कामीबाट बोल्ड गरे ।

यस्तै विष्णु सुकुमरनले २८ र आसिफ शाखले १० रन जोडे। दुवैलाई गुल्सन झाले आउट गरेका थिए। सइद हैदरलाई ललित राजवंशीले १४ रनमा एलबिडब्लूको धरापमा परेका थिए । बलिङमा नेपालका गुल्सन झाले २ विकेट लिँदा सोमपाल र ललितले १–१ विकेट लिन सफल भएका थिए । त्यसअघि युएईविरूद्ध नेपालले खराब ब्याटिङ गर्‍यो।

ओमानको अलअमेरतमा शुक्रबार टस जितेको युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सफल भएको थियो । पहिलो बलदेखि विकेट गुमाउन थालेको नेपालले लगातार विकेट गुमाएको थियो। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्।

सन्दीपलाई कोही पनि ब्याटरले गतिलो साथ दिन सकेनन्। १५ औं ओभरमा आउट हुनुअघि सन्दीपले ५० रन जोड्ने क्रममा ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यसपछि गुल्सन झाले १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाएका थिए । नेपालका ओपनर कुशल भुर्तेल रोयल डक भए। कुशल भुर्तेल इनिङ्ग्सकै पहिलो बलमा शून्यमा आउट भए।

भुर्तेललाई युएईका जुनइद सिद्धिकीले विकेटकिपर सइद हैदरबाट क्याच गराए। यस्तै अर्का ओपनर आसिफ शेख ८ रन जोडेर चौथो ओभरमा आउट भए। कप्तान रोहित पौडेल सातौं ओभरको अन्तिम बलमा १८ बल खेलेर ५ रनमा आउट हुँदा नेपालमाथि दबाब बढेको थियो । दशौं ओभरमा कुशल मल्ल ३ रनमा, दीपेन्द्रसिंह ऐरी १४औं ओभरमा ५ रनमा र सोमपाल कामी १६औं ओभरमा २ रनमा आउट भए। करण केसीले १२ बलमा २ चौकाको मद्दतमा १७ रन बनाएका थिए ।

बलिङमा युएईका जुनइद सिद्धिकी, अली नासीर र बासिल हमीदले २–२ विकेट लिए। नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो। समूह चरणमा नेपाल अपराजित रह्यो । नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो।

प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् । अब नेपालले शनिबार तेस्रो स्थानका लागि ओमान वा हङकङमध्ये एक टिमसँग खेल्नेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us