गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठक कांग्रेसले बहिष्कार गर्ने

काठमाण्डु टुडे २०८१ वैशाख ७ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– गण्डकी प्रदेशमा कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ ।

उक्त रिटमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गर्दै दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर त्यसलाई बेवास्ता गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश प्रमुखले प्रदेशसभा आह्वान गरिएको भन्दै कांग्रेसले बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका नेता पाण्डेले सभामुख धिताललाई बुझाएको पत्रमा भनिएको छ, ‘मिति २०८१।०१।०७ गते ३ बजे बोलाइएको प्रदेश सभा बैठक र सम्मानित सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदा सम्म आह्वान गरिने प्रदेश सभाको कुनैपनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले सहभागी नहुने मिति २०८१।०१।०७ गतेको नेपाली कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको जानकारी गराउँदछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us