आगो निभाउने क्रममा जलेर २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख ७ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– स्याङ्जा आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटे रहेको प्रहरीले जानकारी दिएको छ ।

आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पातपतिंगर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा जलेर रेउसरीको घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी आफ्नै घर र कच्ची गोठ आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न जाँदा जलेर बीरबहादुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट घर, गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै सोही ठाउँ बस्ने जित बहादुर बोटेको कच्ची घर र कच्ची गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us