लगातार चार खेल जित्दै नेपाल सेमिफाइनलमा

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । ८ ओभरमा घटाइएको खेलमा साउदीले दिएको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो ।

नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै बिदा भएको छ ।

समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भएको छ । बुधबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले पराजित गरेको थियो ।

बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रन रेटका आधारमा हङ्कङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us