‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु

काठमाण्डु टुडे २०८१ वैशाख ३ गते १५:१७ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर आइतबारबाट ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानको आयोजनामा भएको सो प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरेका थिए ।

कार्यक्रममा कुलपति हार्तम्छालीले प्रतिष्ठानले प्रदर्शनीमार्फत दुई फरक विषयलाई समेट्न खोजेको बताएका छन । उनले ‘हिमालयको रहस्य’ प्रदर्शनीमार्फत नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भिर असरलाई उजागर गर्न खोजेको जनाए । उनले ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का राष्ट्रिय ललितकला पुरस्कार विजेताहरूलाई हौसला प्रदान गर्न गरिएको बताएका छन ।

उनले भने, ‘वातावरण परिवर्तनले हिमालमा परेको प्रभावलाई कलाकारले कलामार्फत कलात्मक रुपले प्रस्तुत गर्नुभएको छ । हिमाल बचाउने अभियानमा कलाकारको पनि विशिष्ट भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हो ।’ उनले कलामार्फत हिमालमाथि भइरहेको दोहनलाई प्रस्तुत गरिएको विचार व्यक्त गरेका छन ।

कुलपति हार्तम्छालीले नेपालको मौलिक पहिचानसँगै पर्यटनमार्फत सांस्कृतिक अर्थ–समृद्धि मात्रै होइन हिमवत्खण्ड साथै विश्व वातावरण र जैविक विविधताको सार सन्तुलनको मुख्य आधार पनि हिमालय रहेको बताएका छन ।

उनले मानवको प्रकृतिसँग सम्बन्ध, विरासतदेखि आधुनिक समय तथा भविष्यसम्मको सन्तुलन, नियमितता र शान्तिपूर्ण जीवनमोक्षका साथै पुस्ता हस्तान्तरणार्थ जगाधारको बिम्बसार पनि हिमाललाई नै मान्न सकिने झलकहरू कलाकारका चित्रकलामा विभिन्न रेखा, आकार र रङको ढङ्गहरूले देखाउने प्रयास गरिएको बताएका छन ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले हिमाल जीवन र जगतसँग जोडिएको विषय भएको बताए । उनले हिमाल भए पानी हुने र पानी भए जीवन हुने भन्दै जलवायु परिवर्तनले नेपाललगायतका पर्वतीय देशहरूमा परेको असरलाई गम्भिर रूपमा लिनुपर्ने धारणा बताएका छन । उपकुलपति लामाले भने, ‘हिमाल बचाउन यसका बारेमा सबैले आ–आफ्नो ठाउबाट सचेत ढंगले लाग्नु पर्दछ ।

कलाकारले चित्रमार्फत यो अभियानलाई उजागर गर्ने कोसिस गरेका छन् ।’ प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा जलवायु परिवर्तनले पारेको प्रभाव र कालोपत्थर बन्दै गइरहेका हिमालका विषयलाई कलाकारले कलात्मक रुपमा उधिनेको दाबी गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ औँ जलवायु परिवर्तनसम्बन्धी ‘कोप २८’ सम्मेलनमार्फत उठाएको एजेन्डालगायतका विविध विषय कलामा समेटिएको बताए ।

सदस्य सचिव थुम्केलीले प्राणीजगतको जीवनसँग हिमाल जोडिएकाले पछिल्लो समय जलवायु परिवर्तनले यसमा पारेको गम्भिर असरबारे सम्बद्ध सबै सचेत हुनेपर्ने विचार व्यक्त गरे । उनले भने, ‘हिमाल बचाउन विश्वको ध्यान आकृष्ट गर्न कला प्रदर्शनी गरिएको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us