
काठमाण्डु, ३ वैशाख– नेपाली ब्याट्सम्यान आसिफ शेखको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा भएको छ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा उनले एक हजार रनको कोशे ढुंगा पार गरेका हुन् ।
यसअघि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल नौ सय ६८ रन बनाएका थिए । सोमबार हङ्कङविरुद्धको खेलमा उनी ३७ रन बनाउँदै क्रिजमा रहेको छन । सोमबारको खेलअघि उनलाई हजार रन पुरा गर्न केवल ३२ रन आवश्यक रहेको थियो ।
२२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनी सोमबारको खेलमा छैटौँ अर्धशतकतर्फ अघि बढिरहेका छन् ।