गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

काठमाण्डु टुडे २०८० चैत २५ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, २५ चैत–फ्रेन्डसिप कप टी २० प्रतियोगिताको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै नेपाल उपाधि जित्न सफल भएको छ । १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाएको थियो ।

गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाउन सफल भएका थिए । आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५र१५ रन बनाएका थिए । नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।

दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए। यस्तै करण केसी र कुशल मल्लले १–१ विकेट लिन सफल भएका थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेलेका थिए ।

ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ तथा कुशल भुर्तेल २१ बलमा १९ रन बनाएका थिए । यस्तै कुशल मल्ल १३ बलमा २ चौका र २ छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए ।

गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमित पटेलले र जाला युवराज सिंहले १–१ विकेट लिन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us