आयरल्यान्ड ए विरुद्ध नेपाल ए ११४ रनले हार्‍यो

काठमाण्डु टुडे २०८० चैत २३ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, २३ चैत– नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो पराजित भएको छ । यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जित निकालेको हो ।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा आउट भएको हो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाउन सफल भएका थिए ।

विनोद भण्डारी १९ बलमा २ चौका सहित १६ रनमा आउट भएका थिए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६–६ रनमा आउट भएका थिए । स्पिनर म्याथ्यु हम्फ्रेजले ४।५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिन सफल भएका थिए ।

थोमस मेयर्स र फिन ह्यान्डले २९२ विकेट लिएका थिए । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८।४ ओभरमा १७४ रनमा अल आउट भएको थियो । आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५० रन बनाएका थियो ।

कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्का सहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौका सहित ३५ रनमा आउट भए ।

पिटर मुर १७ रनमा आउट भए । नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिएका थिए । नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो । उक्त खेलमा म्याथ्यु हम्फ्रेजले ६ विकेट लिएका थिए । नेपाल ए र आयरल्यान्ड ए बीचको अन्तिम खेल आइतबार हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us