आयरल्याण्ड ए माथि नेपालको रोमाञ्चक जित

काठमाण्डु टुडे २०८० चैत १९ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, १९ चैत– त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो टी–२० खेलमा नेपाल ए ले आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २–१ ले गुमाएको छ ।

२१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाउन सफल भएका थिए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भएका थिए ।

७.१ ओभरमा ५२ ४ को अवस्थामा पुगेको आयरल्याण्डलाई पाचौं विकेटका लागि मोर्गन र ग्यारेथ डेलानीले १२९ रनको शानदार शतकीय साझेदारी गर्दै जितको आशा कायम राखेका थिए ।

आयरल्याण्ड ए का ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट भए । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए ।

नेपालको जितमा विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । नारायण जोशी, कमलसिंह ऐरी र रासिद खानले १/१ विकेट लिन सफल भएका थिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । नेपालको जितमा आरिफ शेखले ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनको अविजित इनिङ खेलेका थिए । तीव्र गतिका बलर कमलसिंह ऐरीले अन्त्यमा ७ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण १९ रन जोडेका थिए ।

नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए ।

पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । रासिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us