एसएमएस फ्रेन्ड्सिप कपको पहिलो खेलमा गुजरातलाई नेपालले ८ विकेटले हरायो

काठमाण्डु टुडे २०८० चैत १८ गते १८:०६ मा प्रकाशित

काठमाण्डु, १८ चैत– त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले आज (आइतबार) खेलिएको आफ्नो पहिलो खेलमा भारतको राज्यस्तरीय टोली गुजरातलाई आठ विकेटले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सफल भएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रनको योगदा बनाउन सफल भएका थिए । कप्तान रोहित पौडेलले पनि २६ बलमा अविजित ३३ रन बनाउन सफल भएका थिए ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १६ बलमा १७ रन बनाएका थिए । अर्का ओपनर आसिफ शेखले पनि १६ बलमा १६ रन बनाएका थिए । गुजरातका बलर तेजस पटेल र हेमांग पटेलले एक–एक विकेट लिएका थिए । त्यसअघि गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए । उनले १४औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए । नेपालका लागि करण केसीले पनि तीन विकेट हात बनाएका थिए । उनले ३.२ ओभरमा २२ रन बनाएका थिए ।

सोमपाल कामीले पनि एक विकेट लिए । गुजरातका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए । गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाएका थिए ।

छैटौँ नम्बरका ब्याट्सम्यान हेमांग पटेलले पनि टोलीको खातामा २० रन बनाएका थिए । अभिषेक देसाईले ११ रन बनाएका थिए । समित पटेलले १० रन बटुले ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us