रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो

काठमाण्डु टुडे २०८० चैत १६ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, १६ चैत– नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार भएको पहिलो टी–२० क्रिकेट खेलमा घरेलु टोली नेपाल ‘ए’ माथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । लोकेश बम र आरिफ शेखवाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा जितको अन्यन्तै नजिक पुगेर पनि नेपाली टोलीले लक्ष्य चुम्न सकेन ।

त्रिवि क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाउन सफल भएको थियो ।

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १९.३ ओभरमा अलआउट हुनुअघि दुई सय एक रनमात्र बनाएको थियो। नेपालका लागि ओपनर लोकेश बमले उत्कृष्ट शतकीय पाली खेले ।

उनले टोलीको जितमा एक सय ६ रनको बनाएका थिए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका लोकेशले यसका क्रममा ५६ बलको सामना गरी आठ छक्का र नौ चौका प्रहार गरेका थिए ।

त्यसअघि उनले केवल ५२ बलमा आफ्नो शतक पुरा गरेका थिए । त्यसक्रममा उनले आठ छक्का र आठ चौका हिर्काएका थिए । लोकेश बम र पाँचौँ नम्बरका ब्याट्सम्यान आरिफ शेखले टोलीका लागि एक सय २१ रनको उत्कृष्ट साझेदारी गरेका थिए । नेपालले ६८ रनको कुल स्कोरमा आफ्नो तेस्रो विकेट गुमाएको थियो ।

त्यसपछि लोकेश र आरिफले टोलीको स्कोरलाई एक सय ८९ रनको बलियो स्थितिसम्म डो¥याएका थिए । लोकेश १६औँ ओभरको अन्तिम बलमा र आरिफ १८औँ ओभरको दोस्रो बलमा आउट भएका थिए । आरिफ शेख केवल एक रनका कारण अर्धशतक पुरा गर्नबाट चुके । उनले टोलीको खातामा ४९ रन थपे ।

आरिफ शेखले केवल २६ बलको सामना गरी पाँच छक्का र एक चौका प्रहार गरे । लोकेश र आरिफ आउट भएपछि अन्य ब्याट्सम्यानले आफ्नो जिम्मेवारी पुरा गर्न सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us