नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० चैत १३ गते १५:३२ मा प्रकाशित

काठमाण्डु, १३ चैत– त्रिवि क्रिकेट मैदानमा जारी टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाउन सफल भएको थियो ।

नेपालका बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए । चौथो विकेटका लागि गुलशन र रोहित पौडेलले ७१ रनको साझेदारी गरेका थिए ।

यस्तै कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन बनाउन सफल भएका थिए । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भएका थिए । सन्दीप जोराले १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए ।

कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे । आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले एकरएक विकेट लिए ।

नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न जानेछ । नेपालले बरोडा र गुजरातसँग सिरिज खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us