चितवनमा पूर्वयुवराज पारसले विद्यार्थी बोकेको बसलाई पेस्तोल ताकेको अभिभावकको दाबी

काठमाण्डु टुडे २०८० फागुन १५ गते १८:३३ मा प्रकाशित

काठमाण्डु, १५ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाहले गत साता ११ दिन परिवारसहित चितवनमा ‘भ्याकेसन’ मनाएका थिए । चितवन राष्ट्रिय निकुञ्ज घुमघामदेखि देवघाट दर्शनसम् मगर्न भ्याएका पूर्वराजपरिवारको १८ जनाको जम्बो टोली गत शुक्रबार काठमाण्डु फर्किएका थिए । पूर्वराजाको चितवन बसाई नितान्त पारिवारिक थियो ।

पूर्वरानी कोमल राज्यलक्ष्मी राणाको जन्मदिवससमेत यतै मनाएर पूर्वराजपरिवार काठमाण्डु फर्किएका हुन । तर, चितवनमा भने पूर्वराजपरिवारका एक सदस्यको नाम जोडेर बेग्लै विवादको प्रवाह भइरहेको छ । विवादमा पर्ने अरु कोही नभएर पूर्वयुवराज पारस हुन् । पूर्वराजापरिवारको भ्रमण दलमा पारससमेत सहभागी रहेको अनुमान गरीएको छ ।

यद्यपि, आमाको जन्मोत्सवका तस्बिरमा उनी देखिएका छैनन् । बरु पारसले चितवनको एउटा विद्यालयको स्कूल बसलाई पेस्तोल ताकेको विद्यार्थीका अभिभावकले बताएका छन । चितवनको भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बस गत बुधबार सधैँजस्तो आफ्ना विद्यार्थी बोकेर घरघर पुर्‍याउन गइरहेको थियो ।

सोही नगरपालिकाको-८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी झारेर बस मोडिन आँट्दा पछाडि कालो रंगमा आइरहेको गाडी रोकियो । गाडीले प्याँप्याँ हर्न बजायो । गाडी घुमाउन अलिबेर लागेपछि एक व्यक्ति कारबाट झोक्किँदै बाहिर निस्किए । उनले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

उनी पारस शाह नै भएको ठोकुवा समेत गरिएको छ । सोही विद्यालयमा आफ्नो बच्चा पढाइरहेका नेपाल क्रिकेट संघका बागमती प्रदेश कार्यसमिति सदस्य अनिल अधिकारीले फेसबुकमा घटनालाई गुपचुप राख्न खोजिएको दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us