जालसाँजी गरेर सरकारी जग्गा हडप्ने र सहकारी ठग्ने शक्तिशाली र धनाढ्यलाई छाड्दैनौंः नारायणकाजी

काठमाण्डु टुडे २०८० फागुन १२ गते १८:१३ मा प्रकाशित

सप्तरी, १२ फागुन– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जमिन हडप्ने तथा सहकारी र लघुबित्तमार्फत बचतकर्ताको रकम ठगी गर्ने थप व्यक्तिहरुमाथि कारबाही गर्न लागिएको बताएका छन् ।

सप्तरीको खडग नगरपालिकामा शनिबार आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले सुशासनलाई मूल मन्त्रका रुपमा अघि बढाएको सुशासन अभियान नरोकिने बताए । जतिसुकै धनाढ्य र प्रभावशाली भए पनि ठगी, जालसाँजी र राज्य दोहन तथा लुटमा संलग्नलाई सरकारले नछाड्ने चेतावनी उनको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र बाँसबारी छालाजुत्ता कारखानाको सार्वजनिक जग्गा हडप्नेलाई सरकारले कानूनी कठघरामा ल्याएको स्मरण श्रेष्ठले गरे । ‘भ्रष्टाचार, जालसाँजी र किर्ते गरेर राज्य श्रोतमाथि लुटपाट गर्ने अपराधी तथा सहकारी र लघुबित्तमा सर्वसाधारण बचतकर्ताको रकम ठगी गर्नेलाई सरकारले छाड्दैन’, उनले भने, ‘यो अभियान रोकिँदैन । धनाढ्य व्यापारी र ठूला कर्मचारी मिलेर लुटे भन्ने चिजको अन्त्य गछौैं । लुट्ने काममा संलग्न अपराधीलाई कठघरामा उभ्याउँछौं ।’

श्रेष्ठले देशका अन्य भागमा समेत सरकारी वा सार्वजनिक जमिन जालसाँजी र किर्ते गरी गैरकानूनी रुपले हडपिएको सूचना आएको भन्दै तत्काल सोको छानबिन गरी कारबाही अघि बढाउन ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिए । । उनले सहकारी ठगीमा संलग्नहरुको सम्पत्ति जफत गरी दामासाहीले बचतकर्तालाई वितण गरिने चेतावनी दिए ।

‘केही व्यक्तिले सहकारीका नाममा जनतालाई लुट्न र ठग्ने काम गरेका छन् । तिनका सम्पत्ति जफत गरेर र सहकारीका अचल सम्पत्ति बिक्री गरेर सर्वसाधारण जनताको बचत फिर्ता गरिन्छ ।’

सहकारी ठगीसम्बन्धी प्राप्त उजुरीबारे सहकारी विभागले छानबिन गरिरहेको र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा कारबाहीका लागि पठाउने तयारी भइरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us