
पोखरा, ८ फागनु– पोखरा महानगरपालिका–२१ का वडाअध्यक्ष दीपक सुवेदी सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।
पोखरा–९ नयाँबजारस्थित मित्रमिलन सहकारी ठगी प्रकरणमा गत मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सुवेदी मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । ८ लाख धरौटीमा रिहा भएलगत्तै उनलाई प्रहरीको अर्को ठगी मुद्धामा पक्राउ गरेको हो ।
सुवेदीलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । तर, लगत्तै प्रहरीले सोही सहकारीमार्फत २ करोड बराबरको घर हत्याएकाले पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए ।
सुवेदीविरुद्ध एक महिलाले २ करोड मूल्य पर्ने घर कब्जा गरेको भन्दै उजुरी दिएकी थिइन् ।