
काठमाण्डू, ८ माघ– नेपाली काँगे्रेसले आगामी निर्वाचनमा गठबन्धन नगर्ने भएको छ ।
सोमबारदेखि सुरु महासमिति बैठकमा प्रस्तुत गर्न महामन्त्री गगन थापाले तयार पारेको प्रतिवेदनमा सभापति शेरबहादुर देउवा सहमत भएसँगै काँग्रेसले आगामी निर्वाचन एक्लै लड्ने भएको हो ।
राजनीतिक प्रस्तावमा थापाले अबदेखि काँग्रसले निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने उल्लेख छ । ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो । तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’, थापाले प्रतिवेदनमा लेखेका छन् ।
उक्त प्रावधानका कारण सत्ता गठबन्धनमै खटपट आउन सक्नेमा सशंकित सभापति देउवाले प्रस्ताव परिमार्जन गर्न थापालाई दबाब दिएका थिए । प्रस्ताव परिमार्जन गर्ने विषयमा देउवा र थापाबीच भएको छलफलमा सहमति भएपछि सोमबार देउवानिवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।
बैठकको बीचमै देउवा उपसभापतिसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । महासमितिले चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित गरे पनि वर्तमान सत्ता गठबन्धमा समस्या नआउनेमा देउवाले प्रचण्डलाई आश्वस्त तुल्याएका थिए ।
सोमबार उदघाटन भए पनि प्रतिवेदनमा सहमति नभएका कारण बन्दसत्र सुरु हुन सकेको थिएन ।