राजकीय पद भागबन्डामा पनि पार्टीलाई घाटा भएको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० माघ २९ गते १४:५३ मा प्रकाशित

काठमाण्डु, २९ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेका छन् । पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा प्रदेश इन्चार्जहरूले पेश गरेको रिपोर्टमाथि सोमबारको बैठकमा संश्लेषणसहितको आफ्नो धारणा राख्दै प्रचण्डले मुलभूत रूपमा अभियान सफल भएको दाबी गरेका छन ।

यस्तै उनले आगामी दिनमा पनि यस्ता खालका अभियानलाई निरन्तरता दिने पनि बताएका छन । सो बैठकमा प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको काम कारबाहीका साथसाथै वर्तमान सत्ता गठबन्धनको विषयमा समेत धारणा राखेका छन् । सम्बोधनका क्रममा प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गरेको बैठक स्रोतले जानकारी दिएको छ ।

उनले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक हुन नसको बताएका छन । प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन ।’ यद्यपि उनले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकलाई बताएका थिए ।

अहिले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पर्ने अवस्थासहित विभिन्न परिस्थितिले नयाँ गठबन्धन बनाउने अवस्थामा नपुगेको उनले बताएका थिए । तर, यसबारे गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा भने पुगेको उनले बताका छन ।

प्रचण्डले कांग्रेसलाई आफूहरूकै मतको आधारमा पहिलो पार्टी बनाइएको पनि बताएको स्रोतले जानकारी दिएको छ ।उनले भने, ‘हामीले चाहिँ इमानदारितापूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ ।

तर हामीलाई पटक पटक धक्का मिलेको छ’, प्रचण्डले भने । राजकीय पद भागबन्डामा पनि पार्टीलाई घाटा भएको उनको भनाइ थियो । अबका दिनमा गठबन्धन भन्दा पनि आफ्नै धरातलमा चुनाव लड्ने गरी पार्टीले अभियान सञ्चालन गर्नुपर्ने समेत प्रचण्डले बताएको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us