
काठमाण्डु, २५ मंसिर– कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन । उनले आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै असन्तुष्टि जनाएका उनले बैठकमा पनि नजाने घोषणा गरेका छन ।
तर महामन्त्री थापानिकट नेताहरुले भने मधेशमा कार्यक्रम तय भइसकेकाले अनुपस्थित हुने बताएका छन । नेता कोइरालाले आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, १४ औं महाधिवेशनमा पदाधिकारीका उम्मेदवार लगायतलाई मंगलबार छलफलमा बोलाएका छन् ।
केन्द्रीय सदस्य मधु आचार्यले उक्त छलफलबारे शेखर–गगनबीच सल्लाह नभएको जानकारी पाएको जानकारी दिएका छन । उनले भने,‘गगनजीको मधेशमा कार्यक्रम पहिले नै फिक्स भएको रहेछ । कुन दिन बैठक गर्ने भनेर छलफल पनि भएको रहेनछ, ‘सल्लाह गरेर बैठक बोलाइएको पनि होइन रहेछ ।’
पार्टीको १४ औं महाधिवेशनमा एउटै समूहमा रहेर सभापति शेरबहादुर देउवा पक्षसँग प्रतिस्पर्धा गरेका शेखर–गगनले सार्वजनिक प्रतिक्रिया दिँदा भने आफ्नो समूह एक रहेको बताउने गरेका छन् । पार्टीको आसन्न महासमिति बैठकका विषयमा छलफल गर्न समूहको बैठक बोलाइएको शेखर पक्षको भनाइ छ ।