विभेदको अन्त्य गरी मानवअधिकार सुनिश्चित गर्नुपर्छ: माधव नेपाल

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १४:१७ मा प्रकाशित

काठमाण्डु,२४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन ।

आज (आइतबार) ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले मानवअधिकार नागरिकको संवैधानिक अधिकारका रूपमा रहेकाले यसको सुनिश्चितता गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरिनुपर्ने बताएका छन ।

‘सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थलमा कुनै पनि नागरिक मानवअधिकारबाट बञ्चित हुन नहुनेमा जोड दिँदै राज्यको मूलप्रवाहमा समाहित हुन नसकेका अल्पसङ्ख्यक, सीमान्तकृतलगायत समुदायको सामाजिक न्याय, हकहितका विषय मानवअधिकारका रूपमा संरक्षण गर्न सबै तहका सरकार संवेदनशील हुनुपर्छ ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष नेपालले मानवअधिकारको पूर्ण कार्यान्वयनबाट लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा नागरिकको मौलिक हक कार्यान्वयन गर्नुपर्ने बताएका छन ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय तहमा दिवस मनाउने गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us