तस्करीको १४ किलो सुनसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर २२ गते ९:१७ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति १४ किलो अवैध सुनसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा बारपाकका चन्द्र घले रहेको प्रहरीले जनाएको छ ।  घले फ्लाई दूबईबाट नेपाल आएका घलेले अस्कोटको खल्तीमा लुकाएर सुन ल्याएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले घलेको साथबाट दुई किलो दरका ७ वटा सुनका बिस्कुट बरामद भएको जानकारी दिए । प्रहरीले सुन ल्याउन सघाउने मिन घलेलाई पनि पक्राउ गरेको छ ।

चन्दका अनुसार चन्द्र सुन बोक्ने भरिया हुन् । केही दिनअघि सुन लिने प्रयोजनका लागि दुबई गएका घले बिहीबार राति ११ बजेर ५५ मिनेटमा फ्लाई दुबईको एफजेड ५७३ विमानबाट अन्तर्राष्ट्रिय विभानस्थलमा अवतरण गरेका थिए ।

यसअघि गत ३ साउनमा अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । ६० किलो र त्यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ केजी सुन तस्करी प्रकरण छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन आयोगले काम गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us