
सल्यान, २० मंसिर- सल्यानमा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
सिद्धकुमाख गाउँपालिका–३ का ४५ वर्षीय डम्मर सार्कीले श्रीमती ४० वर्षीया शितली सार्कीको चिर्पट र बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । सल्यान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले मंगलबार साँझको घटना भए पनि बुधबार बिहान मात्र खबर पाएको बताए ।
नाबालक छोराछोरी आफन्तको घरमा गएका बेला डम्मरले श्रीमतीको हत्या गरेका थिए । डम्मर बुधबार बिहान ढोरचौरस्थित प्रहरी चौकीमा आउँदै गर्दा बाटैमा पक्राउ परेका छन् ।
श्रीमान श्रीमती सँगै बसेर मदिरा सेवन गरेको र त्यस क्रममा विवाद भएपछि आफूले आवेगमा आएर हत्या गरेको बयान डम्मरले दिएका छन् । मृतकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल खलंगा लगिएको छ ।