टिकटकमाथिको प्रतिबन्ध हटाउन सकिन्छ, अरु सामाजिक सञ्जालमा प्रतिबन्ध हुँदैनः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० मंसिर १८ गते १८:४८ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउन सकिने बताएका छन् ।

सोमबार सञ्चार माध्यमका सम्पादहरुसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको अन्तरक्रियामा उनले कन्टेन्ट नियमन गर्ने गरी टिकटकमाथिको प्रतिबन्ध हटाउन सकिने बताए ।

सम्पादकहरुले सामाजिक सञ्जालको अराजकता नियन्त्रण गर्न सकिने भए पनि प्लाटफर्म नै बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्न खोजेको हो कि भन्ने प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, प्रमुख सत्ताघटक काँग्रेस सभापति शेरबहादुर देउवा, सातै प्रदेशका मुख्यमन्त्री लगायतले टिकटक बन्द गर्न सुझाव दिएको बताए । ‘प्रतिपक्षी दलका नेताले त पटकपटक टिकटक किन बन्द नगरेको भनेर प्रश्न गर्नुभयो ।

सत्तापक्षका नेताले पनि टिकटक त बन्द नगरी भएन भन्ने । सातै प्रदेशमा सुझाव माग्दा पनि टिकटक त बन्द गर्नुपर्छ भन्ने आयो’, उनले भने, ‘मैले त यसो गर्दा फेरि के झमेला आइलाग्ने हो भनेर तीन महिनासम्म रोकेर राखेको थिएँ ।’

प्रधानमन्त्रीले सम्पादकहरुले नै टिकटकमाथिको प्रतिबन्धबारे गम्भीर प्रश्न उठाएकाले नियमनसहित टिकटक खोल्न आफूलाई आपत्ति नरहेको स्पष्ट गरे । प्रचण्डले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा नियमनसहित टिकटक खोल्ने विषय समावेश गर्न सकिने बताए ।

अर्को एक प्रसंगमा भने उनले टिकटकजस्तै सामाजिक सञ्जालका अरु प्लाटफर्ममाथि पनि सरकारले कडाई गर्न लागेको भन्ने हल्लामा कुनै सत्यता नरहेको प्रष्टीकरण दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us