
एजेन्सी– इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आकलन गर्दै त्यस तर्फ पनि आक्रमण सुरु गरेको छ । यस क्षेत्रमा करिब २३ लाख मानिस रहेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार इजरायली सेनाले आइतबार गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू खाली गर्न आदेश जारी गरेको हो। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टहरू अनुसार इजरायलले इजरायली सेनाले आफ्नो भूमि विस्तार अभियानलाई अगाडि बढाइरहेको बताइएको छ ।
इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका अनुसार थल सेनाहरू अहिले दक्षिणतिर अघि बढिरहेको छ । युद्धविरामपछि इजरायली सेनाले दक्षिणी गाजामा हवाई आक्रमण पनि सुरु गरेको छ ।
शहरी शरणार्थी शिविर जबलियामा शरण खोज्दै आएकी अमल रडवानले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘हाम्रो चारैतिर लगातार विस्फोटको आवाज सुनिन्छ। यहाँको अवस्था डरलाग्दो छ । मृत्यु जताततै छ।
एकैछिनमा जो कोही मर्न सक्छ ।’ इजरायल र हमासबीच जारी युद्धमा हालसम्म १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । गाजाका अधिकांश नागरिक सुरक्षाको खोजीमा अहिले दक्षिणतिर भागेका छन्।