
काठमाण्डु, १८ मंसिर– दाङको जिल्लको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट आज भन्दा ८ दिन अधि सम्पर्कविहीन भएका एक बालक आज सोमबार काठमाण्डुमा फेला परेका छन ।
तुलसीपुर उपमहानगरपालिका ७ का १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाण्डुमा फेला परेका परेको प्रहरीले जानकारी दिएको छ । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जिवराज रेग्मीले जानकारी दिएका छन ।
खेल्न जान लागेको भन्दै घरबाट निस्किएका आनन्द मंसिर १४ गते राति अबेरसम्म नफर्किएपछि अभिभावकहरुले खोजी सुरु गरेका थिए । दाङबाट काठमाण्डु जाने गाडीमा चढेको प्रारम्भिक जानकारी पाएपछि उनका बुवा रेग्मी छोरो खोज्न भन्दै काठमाण्डु आइपुगेका थिए ।
प्रहरीले पनि खोजी जारी राखेको भएपनि जिवराज आफैंले छोरालाई फेला पारेका थिए । बुवा जिवराजका अनुसार उनको छोरा आनन्द मंसिर १२ गते तुलसीपुरबाट काठमाण्डु जाने नाइट बस चढेका थिए ।
भोलिपल्ट उनी बालाजु माछापोखरीमा ओर्लिएका थिए । त्यसपछि उनी नयाँबसपार्क क्षेत्रभित्रका खाली बसमा बस्ने र होटलमा गएर खाने गरेका थिए । घुम्न भनेर दाङबाट काठमाण्डु आएका उनले आठ दिनको अवधिमा धेरैजसो बसमै यात्रा गरेर बिताएको पाइएको छ ।