निराधार अफवाह फैलाउने युट्युब च्यानलमाथि धमाधम कारबाही

काठमाण्डु टुडे २०८० मंसिर १८ गते ९:२७ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– प्रेस काउन्सिल नेपालले अफवाहपूर्ण र अतिरञ्जित सामग्री प्रसारण गर्ने १८ युट्युब च्यानलमाथि कारबाही सिफारिस गरेको छ ।

काउन्सिलले निराधार, अफवाहपूर्ण र अतिरञ्जित शीर्षक दिई भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने तथा अमर्यादित र अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गरेकाले ती युट्युब च्यानलमाथि कारबाही अघि बढाइएको जनाएको छ ।

दर्ता र सूचीकरणबिनै सञ्चालनमा रहेका ती युट्युब च्यानललाई सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहोराले जानकारी दिए । कुनै मिडिया कम्पनीअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको बोहराले विज्ञप्तिमार्फत जनाएका छन् ।

पेशागत आचरण बमोजिम कुनै जिम्मेवारी बहन गर्नु नपर्ने, अप्राकृतिक भ्युअर बढाएर त्यसबाट रकम मात्र आर्जन गर्ने, पेशागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने, अफवाहपूर्ण सामग्रीलाई स्थान दिने, अश्लील, वैयक्तिक गोपनियताविपरीत, चरित्र हत्या गर्ने किसिमका सामग्री सम्प्रेषण नगर्न/नगराउन पटकपटक सम्वद्ध पक्षसमक्ष काउन्सिलले अपिल गर्दै आएको बोहराले स्पष्ट गरेका छन् ।

काउन्सिलले हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित मथनेलसहितको शीर्षक दिई जनममानसमा भ्रम फैलाउने, त्रसित पार्ने, कूरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us