
काठमाण्डु, १४ मंसिर– टिकट काटेका ३१ यात्रुलाई छाडेर नेपाल एयरलाइन्सको जहाज बुधबार राति दुबई उडेको खुलासा भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल गएको उडान नम्बर आर ए २२९ को नेपाल एयरलाइन्सको जहाज वैदेशिक रोजगारीका लागि विदेश जान लागेका ३१ यात्रु काठमाण्डुस्थित अन्तर्राष्ट्रिय विमानस्थलमै छाडेर उडेको हो ।
प्रधानमन्त्री जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार राति साढे ९ बजे त्यसतर्फ उडेका थिए । नेपाल एयरलाइन्सले साढे ११ बजे उड्ने पुर्वतालिकाअनुसार यात्रुको टिकट काटेको थियो ।
तर, उडान तालिका परिवर्तन गरी पूर्वनिर्धारित समयभन्दा दुई घण्टाअघि जहाज उडाइएको थियो । त्यसबारे यात्रुलाई कुनै जानकारी गराइएन । नेपाल एयरलाइन्स व्यवस्थापनले ती यात्रुलाई काठमाण्डुको एक होटलमा ल्याएर राखेको छ ।
नेपाल एयरलाइन्सले ‘भीभीआईपी’ फ्लाइटका कारण यात्रु छुटेको प्रष्टीकरण दिएको छ । छुटेका यात्रुलाई बिहीबार उडाउने तयारी छ ।