
काठमाण्डु, १३ मंसिर– सांसद् एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति भएका छन् ।
महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वाग्लेलाई उपसभापति तोकेको हो । सभापति रवि लामिछानेले बैठकमा वाग्लेलाई उपसभापति प्रस्ताव गरेका थिए । बैठकले लामिछानेको प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको सांसद शिशिर खनालले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्ले केही समयअघिसम्म काँग्रेसमा थिए । तनहुँ–१ मा काँग्रेसबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त स्थानमा गत १० वैशाखमा सम्पन्न निर्वाचनमा वाग्ले भारी मतान्तरले विजयी भएका थिए । यस्तै बैठकले कोषाध्यक्षको जिम्मेवारी लीमा अधिकारीलाई दिएको छ ।
अधिकारी पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी हुन् । यस्तै सह–महामन्त्रीमा सांसद सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन भए ।
यस्तै सह–प्रवक्ताको जिम्मेवारी सांसद् मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंले पाएका छन् । सह–कोषाध्यक्षमा दीपक बोहोरा र बसुमाया तामाङलाई मनोनित गरिएको छ । यस्तै बैठकले २१ सदस्यीय सचिवालयसमेत गठन गरेको छ ।
सचिवालयमा पदाधिकारीसहित संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियार छन् । बाँकी सदस्य पछि थपिने सो पार्टीले जनाएको छ ।