
काठमाण्डु, १३ मंसिर– प्रहरीले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट मेसु डा राजेन्द्र बस्यालमाथि कुटपिट भएको घटनामा संलग्न भएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतक महिलाको भाइ हरि राजकोटी, प्रगती थापा, लिला थापा, प्रकृति थापा, कुमार थापा, मिलन राना र दिलबहादुर थापा रहेका छन् । सोमबार अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि मंगलबार महिलाका आफन्तहरूले मेसु बस्यालमाथि कुटपिट गरेका थिए ।
उक्त घटनामा संलग्न सात जनालाई बुधबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिएसपी दान बहादुर थापाले जानकारी दिएका छन ।
पक्राउ परेका सात जनालाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको पनि उनले जानकारी दिएका छन । सुत्केरी महिलाको मृत्यु भएको घटनाबारे आज बिहान २ बजे अस्पतालमा अस्पताल प्रशासन र प्रहरीले पीडित पक्षसँग संयुक्त छलफल गरेको थियो। छलफलका क्रममा पीडित पक्षका केही व्यक्तिहरूले डाक्टर बस्याललाई कुटपिट गरेका थिए। उनीहरूको आक्रमणबाट बस्यालको टाउको र छातीमा चोट लागेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
आक्रमणबाट गम्भीर घाइते भएका उनलाई घटना लगत्तै लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो। अहिले उनलाई आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । घटना लगत्तै कुटपिटमा संलग्नलाई पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिएका छन ।