
काठमाण्डु, १३ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप–२८) मा भाग लिन आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रचण्ड राति ९ बजे दुबई उड्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । बिहीबारदेखि सुरु हुने कोप–२८ मा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । यस्तै प्रधानमन्त्री त्यहाँ हुने विभिन्न साइडलाइन बैठक र समारोहमा समेत सहभागी हुने कार्यसूची छ । प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराउने छन् ।
नेपालले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत कठिनाइ, कोषको बाँडफाँटमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरुसँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
सम्मेलनमा नेपालले विश्व तापमान वृद्धि रोक्न विकसित राष्ट्रहरुलाई आफ्नो प्रतिबद्धताको जिम्मेवारी पालना गर्न नेपालले दबाब दिनेछ ।
यस्तै जलवायु अनुकूलनका लागि दोब्बर घोषणा गरिएको सहायता कोषलाई अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयनमा पनि नेपालले जोड दिने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।